जुम्ला टु काठमाडौं बाई ट्याक्टर
एसएलसी दिएर बसेकाे दुई महिना भइसकेकाे थियाे। दाइले मलाई चाँढाे काठमाडौं पठाउनु पर्याे भनेर बारम्बार खबर पठाई रहनु भएकाे थियाे।
जेष्ठकाे महिना जुम्लातिर कामकाे निकै चटाराे हुन्छ। पहिलाे हप्तामा जाै काटेर लगत्तै राेपाई गरिहाल्छन्। जाै काट्न पनि जति बेला मन लाग्छ त्यति बेला पाइदैन। सबै गाउँलेको सल्लाहमा एउटा निश्चित दिनमा मात्र पाइन्छ। हाम्राेमा तीन दिनमा जाै काटेर घरमा थन्काउने काम भयाे।
२०६४ जेष्ठ १३ गते यात्रा गर्नलाई राम्राे दिन थियाे। साेहि दिनमा म काठमाडौं हिड्ने सल्लाह भयाे। मेराे बाबा ज्याेतिष हुनाले हाम्राे घरकाे जाे काेहिले पनि घरबाट बाहिर जाँदा अहिले पनि पात्राे र दिन हेराएर राम्राे दिनमा मात्र निस्किन पाइन्छ। म पनि काठमाडौं चाढैँ जानू पर्छ भनेर आतुर थिए। काठमाडौं चाढै पुगेर ब्रिज काेर्ष पढ्ने याेजना थियाे।
१२ गते बेलुका तिर आमा र हजुर आमाले दाजुलाई अन्नि (काेशेली) बनाउन थाल्नु भयाे। अर्सा, लाडु(कसार), सेलरोटी लगाएतका खाने कुराहरु र मेरा केही किताब अनि कपडा राखेर मेराे काठमाडौं लैजाने झाेला तयार भयाे। अन्नि हाल्दा हाल्दै हजुरआमा भक्कानिएर रुन थाल्नु भयाे। पछि आमा, बाबा, म सबै रुन थाल्याैँ।
कान्छाे भाइ अलिक सानै थियाे। म त्यति बेला ईमान्दारिताका साथ आफ्नाे पढाइ सङसङै घरकाे सम्पुर्ण कामहरु गर्थे। आमा बाबालाई मैले गर्दा घरमा धेरै सहज थियाे। स्कुल जानू अघि सधै जसाे घाँस काट्ने, गाई भैंसी स्याहार्ने गर्थे। अलिक सक्ने भए पछि घरमा हलि नै लगाएकाे याद छैन। आफै हलाे जाेत्थे। मैले जुत्ता सिलाउन सिकेकाे थिए। बिग्रेकाे छाताकाे तार बाट जुत्ता सिलाउने आरा पनि आफै बनाउथे। रेडियाेबाट पावर सकिएका ब्याट्री हरु भेला पारेर गाेबरमा डुबाएर बत्ति बाल्न सिकेकाे थिए। बाध्यताले मान्छेलाई धेरै कुरा सिकाउने रहेछ। भनिन्छ नि "आवश्यकता नै आविस्कार हाे" भनेर।
म याे बेला दाेश्राे पटक आफ्नाे घर छाेड्दै थिए। पहिले आठ क्लासमा हिउँद महिनामा ट्युसन पढ्न नेपालगन्ज गएकाे थिए। त्यति बेला घरबाटै हिडेर दैलेखसम्म चार दिनकाे यात्रा र दैलेखबाट नेपालगन्ज सम्म गाडीकाे यात्रा गरेकाे थिए।
अघिल्लो पटक घर छाेड्दा कुनै तनाव थिएन। खुसि खुसि घर छाेडेकाे थिए। किताबमा पढेका र चित्रमा देखेका कुराहरु जस्तै ठुलाे सहर, माेटर गाडी, साईकल, टिभी आदि हेर्न पाइने भाे भन्ने कुरामा दङ्ग थिए। याे पटक भने घर छाेड्ने कुराले मन भारि थियाे। रातै भरि छट्पटी भएकाे थियाे। निदाउन खाेज्दा निद्रै परेकाे थिएन। एकछिन निदाउदा सपनामै राेईरहेकाे रहेछु।
१३ गते बिहान घर छाेड्ने दिन थियाे। म बिहानै उठेर फ्रेस भएर खाना खान थाले। हजुर आमा र आमाले टीका लगाईदिनु भयाे। आमा र हजुरआमा रुदै हुनु हन्थ्याे। घर छिमेकी हरु पनि काठमाडौं जाने भने पछि आन्छ हाल्ने (काेशेली) दिने चलन हुन्छ।
आफन्त हरुका बिदाईका हात हरु हल्लिरहदा मेरा आँखा बाट आँशु झर्न थाले। मेरा गाेडाहरुले मेराे घरकाे अाेटालाे (आँगन) छाेड्नै मानेका थिएनन्।
फर्केर हेर्दा काेहि हात हल्लाउँदै त काेहि ताल फर्काउदै (रुमाल हल्लाउँदै) थिए। हरकाेहि सङ्ग मिसाजिलाे म सबैकाे आँखाकाे नानि थिए। यात्रा भरि सम्झनाका भारिहरु खाेतल्दै मनकाे आयातनलाई फराकिलाे पार्दै, घडिकाे सुई झै समयकाे यात्रा सङै यात्रा गर्नुकाे बिकल्प थिएन म सङ्ग। अब बिस्तारै बिस्तारै म हुर्के बढेकाे मेराे गाउँ, मेराे घर मेरा आफन्त हरु, मेरा साथि भाइ हरु, मेरा प्रिय सामानहरु सबै कुरा म बाट टाढा टाढा हुँदै गएका थिए।
बाबा मलाई पुर्याउन भनेर मसँगै जानू भएकाे थियाे। बाबा र म बाटै भरि अनेकौं गफ गर्दै मेराे भविश्यकाे चिन्ता र परिकल्पनामा हिँडिरहेका थियाैं। बाबाले मलाई जिन्दगीको बारेमा धेरै कुरा सिकाउनु भयाे। आफ्नाे विगतकाे कहानीहरु सुनाउदै ऊ बेलामा हटाैरु (यात्रि) हरु सङ्ग हाट (शहर) जादा ढुङ्गाकाे अाेडारहरु (गुफा) मा बास बसेका, खाना खाएका, डाँका हरुले भारि चाेरेका कुराहरु मलाई रमाइलाे लाग्दै थिए। बाबाले एक पटक खाना खाईसकेपछि बचेकाे १ कुकर जति खाना फ्याक्नु नहुने भएर साथिहरु सङ्ग बाजि खेल्नु भएछ। बाजिमा १ बट्टा घिउ सङ्ग खान दिए सकाउने सर्त तेर्साउनु भएछ। पछि भात र घिउ सबै सकाउनु भएकाे रे।
बाबा र म दिनै भरि हिडिसकेपछि बेलुका पाँच बजे नाग्म बजार पुग्याैँ। हाम्राे त्याे दिन त्यतै बस्ने याेजना थियाे। बेलुका तिर जुम्ला बजार बाट आउदै गरेकाे एउटा ट्याक्टर भेटियाे।
नाग्म बजार अहिलेकाे जस्ताे थिएन। एकाध टहरा जस्ता हाेटेलहरु मात्र थिए। कर्णाली राजमार्ग त्यति बेला निकै जिर्ण थियाे। सुरुवाती चरणमा कर्णाली राजमार्गमा कैयौं कर्णाली बासीले आफ्नाे जिवनकाे आहुति दिएका छन्। त्यतिबेला भर्खरै खाेलेकाे ट्रयाकमा ट्याक्टर मात्र चल्थे। ट्याक्टरको ड्राइभर सङ्ग कुरा गर्दै जाँदा बाबाले चिनेकाे मान्छेकाे ट्याक्टर परेछ।
बाबा मलाई ट्याक्टरमा चढाएर आफू नाग्म मै बसेर भाेलि पल्ट घर फर्किनु हुने भाे।
ड्राइभर, याैटा सहचालक भाइ सङ्गै म त्याे नाइट ट्याक्टरकाे एक्लाे यात्री थिए। केही बेरमा सुनसान सडकमा खालि ट्याक्टरले आफ्नाे गति लिन थाल्याे। एकै छिनमा अध्याँराे सुरु भयाे। ठुला ठुला ढुङ्गा भएकाे बाटाेमा ट्याक्टर खाली भएकाे हुनाले निकै उफ्रिन थाल्याे।
मैले छेउकाे रडहरुमा मज्जाले समातेकाे थिए। बेला बेलामा माथिकाे रडमा टाउकाे ठाेक्किन थाल्याे। जति जाेगाउदा पनि टाउकाे ठाेकिन थाले पछि ड्राईभरलाई भनेर पछाडि ट्रलिमा जाने निधाे गरेँ। ट्रलिमा अगाडिको भन्दा अलिक ठिक थियाे। ट्रलिमा बस्न मिल्ने ठाउँ चाहिँ थिएन। खालि ट्रलिमा मेराे साथि भनेकाे छेउमा म जत्रै याैटा तेलकाे ड्रम र ट्याक्टर ढुङ्गामा ठाेक्किदा आउने ठुलठुलाे आवाज हरु मात्र थिए।
रातकाे ८ बजे बालिघाटमा खाना खान राेकियाैँ। म खाना खान ओर्लिए। साहुनिले मासु खानेकि भनेर साेध्नु भाे। मैले मासु खादा पैसा धेरै खर्च हुन्छ हाेला भन्ने पिरले सादा खाना खान्छु भने। खाना पनि खास्सै खान मन लागेन। घरकाे मिठाे खानाकाे याद आयाे। हजुर आमाले प्रेमले पस्केर दिनु भएकाे याद अायने। खाना खादै गर्दा कति बेला प्लेटमा आँसु चुहिएछ पत्ताे भएन। कसैले नदेखुन् भनेर त्यसै आँसु लुकाए।
खाना खाने बित्तिकै हिँडी हाल्ने कुराे भयाे। भिरैभिरकाे कालिकाेट जताततै ठुला ठुला चट्टानहरुमा उफ्रिदै उफ्रिदै यात्रा गरिरहेकाे थियाैं। अहिले म बेला बेलामा त्याे बाटाेमा यात्रा गर्दा सम्झिन्छु, त्याे बेला रातिकाे यात्रा गरेर ठिकै गरिएछ। दिउसाे भए कति डर लाग्थ्याे हाेला।
दायाँ बायाँ केही पनि देखिदैन थियाे। बेला बेलामा एकाध घरहरु मात्र देखिन्थे। त्यति बेला राजमार्ग वरपर अहिलेकाे जस्ताे ठाउँठाउँमा बजारहरु थिएनन्। मन भरि अनेकौं कुरा खेल्दै थिए। घरकाे यादले बेला बेलामा राेइरहेकाे थिए। त्यतिबेला त अाँशु देख्ने पनि काेहि थिएन। चिसाे निकै थियाे। मलाई आफ्नाे ओछ्यानकाे, त्याे मिठाे निद्राकाे कल्पना मात्र गर्नुकाे अरु विकल्प थिएन।
सायद रातकाे १२ बजेतिर हाेला कालिकाेटकाे मान्म बजारमा पुगिएछ। राति त्यतैकाे कुनै हाेटेलमा सुत्ने कुरा भयाे। हाेटेल पनि गाेठ जस्तै थियाे। कपडाहरु पुरै गन्हाइरहेका थिए।
ड्राइभर साहुजी साहुनी सँग गफ गर्दै थिए। म दिन भरिकाे हिडाईकाे थकान र त्यसपछिकाे ट्याक्टरको थकानले कति बेला निदाएछु पत्तै भएन।
बिहान पाँचै बजे ड्राइभर दाईले उठाईहाल्नु भाे। निद्रा नपुगेर र धुलाेले हाेला आँखा निकै पाेलिरहेकाे थियाे। म आफ्नाे आँखा मिच्दै झाेला समातेर पुन: ट्रलिमै उक्लिए। मसङ्ग अगाडिकाे सिटमा बस्ने हिम्मत नै थिएन।
त्याे बेला दैलेखकाे खिड्कि ज्युला सम्म बस आउथ्याे। ड्राइभरले गार्हो भएकाे छ भने बसमा जान सुझाए। मलाई पैसा खर्च हुन्छ भन्ने डरले जतिसुकै दुख भएपनि ट्याक्टरमै सुर्खेतसम्म जाने साेच आयाे।
त्याे दिन दिउसाे बेस्सरी पानी पर्याे। ट्याक्टरमा त्रिपाल हरु केही पनि रहेनछ। ट्याक्टरले धेरै उफारेर हाेला कतिबेला मेराे झाेलाकाे चेन बिग्रिसकेछ। आमाले त्यत्राे दुख गरेर बनाएकाे खाने कुराहरु सबै पानिले बगाइदियाे। चिसाेले मेराे शरीर पुरै कठ्याङ्रिएकाे थियाे। मेरा हातहरुले अगाडिको रड सम्म समात्न सकेका थिएनन्। म त्यहि तेलकाे ड्रमलाई अंगालेर थचक्कै बस्न पुगेँ।
मेराे आमा अलिक बाठाे हुनुहुन्छ। मैले पैसा खसाउछ या बाटाेमा कसैले चाेरिदिन्छ भनेर चार हजार रुपैँया कागजमा पाेकाे पारेर याैटा कपडामा बेरेर मेराे ढाडमा बाँधिदिनु भएकाे थियाे। काठमाडौं नपुगिन्जेल बाँधिराख्नु भनेर सुझाउनु भएकाे थियाे। पकेट खर्च र गाडिमा लाग्ने खर्च भने गाेजीमा थियाे। ढाडमा बाँधेकाे पैसा बाहेक सबैकुरा भिज्याे। हाम्राे त्याे दिन बेलुका सम्म सुर्खेत पुग्ने सपना पानिले चकनाचुर बनाइदियाे। हामी त्याे दिन तल्लाे डुङ्गेश्वर सम्म मात्र पुग्यौं।
दाेश्राे दिनकाे रातकाे खासै केही पनि याद छैन। तेस्राे तिन दिउसाे ११/१२ बजेतिर सुर्खेत पुगेकाे सम्झना छ।
सुर्खेत पुग्दा भने म हिड्नै नसक्ने भैसकेकाे रहेछु। खुट्टा खाेच्चिदै थियाे। तीन दिनकाे धुलाे र पानीले मेराे कपडा हेर्न लाएककाे थिएन। हात पुरै सुन्निएकाे थियाे। खुट्टा टेक्नै नमिल्ने गरेर दुखिरहेकाे थियाे। शरीरकाे हरेक पार्टहरु दुखिरहेकाे थियोे। म आफैलाई त्यतिबेला सडक बालबालिका जस्तो महशुस भएकाे थियाे।
ड्राइभर दाईले मलाई सुर्खेतबाट काठमाडौं जाने बसकाे काउन्टर देखाइदिएर आफू नेपालगन्ज तिर लाग्नु भाे।
म खाेच्चिदै खाेच्चिदै बसकाे काउन्टर तिर काठमाडौं जाने बस साेध्न गए। बस चार बजे छुट्ने रहेछ। टिकट काट्ने मान्छेले भाइ लंगडाे हाे, के भएर यस्ताे भएकाे भनेर साेधे। उनकाे अनुमान मिल्याे सायद। तर म त्याे बेला पनि अलिक चलाख नै थिए। गाडीमा अपांगलाई छुट हुन्छ सुनेकाे थिए। मलाई पनि छुट गर्छकि साेचेर जन्मजात यस्तै हाे भनेर गफ लगाई दिए। तर ऊ पनि के कम मलाई अपांगताकाे कार्ड देखाउन भन्याे। म सङ्ग त कार्ड थिएन।
पछि विद्यार्थी कार्ड देखाएर छुट माग्न कत्ति गुहार गर्दा ५० रुपैयाँ छुट पाए। फुल भाडा ५०० रहेछ। मैले मलाई बाेमिट हुने हुनाले अगाडिको सिट मिलाईदिन भने। टिकट वाला ले बनाेटवाला सिट, ड्राइभरकाे छेउकाे खालि छ भन्याे। सबै हेर्दै जान पाइन्छ मज्जाले सुत्न पाईन्छ भन्याे। म पनि पछाडि बाेमिट हुने डर र फेरि सुतेरै जान पाईने हुनाले मख्ख परेर हुन्छ काटिदिनुस् भने।
३,४ घण्टा बाकि थियाे गाडी छुट्न। म गाडीले छाेडेर जान्छ कि भन्ने डरले यता उता कतै पनि गइन। निकै प्यास र भाेग लागेकाे हुनाले छेउकाे याैटा हाेटेलमा गए। सुरुमा पानी मागे। साहुजिले बाेतलकाे पानी दिनु भयाे। मलाई थाह नै थिएन त्याे बाेतलकाे पानी पियाे भने पैसा तर्नु पर्छ भनेर। पछि पैसा माग्दा पाे थाह भयाे त याे सहरमा पानी पैसा तिरेर पिउन पाइने रहेछ। त्यसलाई त मिनरल वाटर भन्दा रहेछन्। म त मेराे घर अगाडिको निरन्तर बग्ने कर्णाली नदि हेरेर पाैडि खेल्दै हुर्केको मान्छे, अनि चाैबिसै घन्टा निरन्तर बगिरहने घर अगाडिको धारामा मुख डुबाएर पानिकाे प्यास मेटेकाे सम्झना आयाे । सबैभन्दा बढी "पानी मागे दुध दिन्छन्" भन्ने उखान याद आयाे। याद आएर पनि के गर्नु, मैले पानी खाए। साहुजीले मेरा रुपियाँ खाए।
चार बज्दै गर्दा गाडीले हर्न बजाउन थाल्याे। म खाेच्चिदै गाडि तिर उक्लिए। मलाई लाग्याे अब त आरामले अडेस लागेर सुत्न पाइन्छ हाेला। बिडम्बना बनाेटकाे सिट भनेकाे त ड्राईभरकाे देब्रे तिरकाे फराकिलाे भाग रहेछ, जहाँ बिच्चमा एक्सिलेटर र कतै अडेस सम्म लाग्न नमिल्ने हुँदाे रहेछ। त्यसमा पनि म एकजना भए त ठिकै हाे, ३/४ जनालाई राखेकाे रहेछ।
म राम्राे अडेस लाग्न मिल्ने सिट मिलाई दिने कुरामा बिलाैना गर्न थालेँ। मलाई त्यतिबेला जुम्लाको खष भाषा बाहेक चलन चल्तिकाे नेपाली खासै राम्राे बाेल्न आउदैन थियाे। मैले बाेलेकाे कसैले बुझेनन् जस्ताे लाग्याे। ड्राइभर र कन्डक्टरले उल्टै नजाने भए पैसा सैसा फिर्ता हुँदैन गाडीबाट झर भन्न थाले। अलिक पर नपुग्दै मलाई बाेमिट हुन थाल्याे। तीन दिन देखि राम्राेसँग नखाएकाे भएर हाेला पेट पुरै बटारियाे। एकदम गार्हो भयाे। छेउमा बसेकाे एक जना दाइलाई मेराे निकै माया लागेछ। आफू बसिरहेकाे सिटमा मलाई बसाएर आफू मेराे सिटमा आउनु भयाे। एक जना आन्टिले ल्वाङ, सुकमेल, पानी दिनु भयाे। बिस्तारै अलिक आनन्द भयाे।
बाेमिट हुन छाेडे पछि म मेराे वरिपरिकाे मान्छेसँग गफिन थाले। उनीहरुलाई पनि मेराे गफ सुन्न सार्है रमाइलो लागेछ। उनिहरु गलल हाँस्दै मलाई उडाई रहेका थिए। म उडिरहकाे थिए।
म रात भरिकाे यात्रामा काठमाडौंकाे बारेमा अनेकौं कल्पनाहरु गर्न थाले। छेउका मान्छेहरुलाई नि साेध्थे काठमाडौं कस्ताे छ भनेर। मनमनै अनेकौं ठाउँहरुमा घुम्ने प्लान बनाए। सुरुमा चिडियाखाना जान्छु साेचे। त्यहाँ त बाघ, भालु, हात्ती हुन्छन् भन्ने सुनेकाे थिए। अनि धरहरा चढ्ने याेजना बनाए। धरहरा बाट त पुरै काठमाडौं देख्छ भन्ने सुनेकाे थिए। त्यस्तै प्रिय राजा बिरेन्द्र बसेकाे राजदरबार, न्युराेड, रत्नपार्क, पशुपतिनाथ मन्दिर र स्वयम्भू सबै घुम्ने याेजना बनाउदै थिए।
साेच्दै थिए काठमाडौंमा घरहरु कस्ता हुन्छन् हाेला? त्यहाँका मान्छे हरु कस्ता हुन्छन् हाेला?
के उनीहरु पनि मैले जस्तै खाना खान्छन् हाेला?
मैले जस्तै कपडा लगाउछन् हाेला?
त्यहाँका स्कुलहरु पनि मैले पढेका स्कुल जस्तै त हुन्छ हाेला ?
पढाउने सर मिसहरु मलाई पढाउने जस्तै हुन्छ हाेला?
जस्ता अनेकन् कुरा हरु साेच्दा साेच्दै कति बेला निदाएछु पत्तै भएन। सहचालक भाईले काेट्याउदै दाई काठमाडौं त आयाे त लु झर्ने भनेकाे हाेईन झर्नुस् झर्नुस् भन्दा म झसङ्ग भए। एकैछिनमा मलाई कलंकी चाेकमा झारिदिएर गाडि कता तिर गयाे थाहै भएन।
Comments
Post a Comment