यस कारण सम्भव छ जुम्लामा एमबिबिएस
‘भावनामा बहकिएर हुँदैन जुम्लामा एमबीबीएस कार्यक्रम चल्दैन्‘ शीर्षकमा दुई दिन अघि नेपाली हेल्थमा प्रकाशित एक जना डाक्टरको लेख (जो अस्पताल सञ्चालक समेत हुनुहुँदो रहेछ) पढ्न पाइयो । उहाँको तर्क पढियो । काठमाडौँले कर्णालीलाई हेर्ने दृष्टिकोण समेत लगभग बुझियो ।
तर, विगत जस्तो त्यति दुर्गम नै पनि होइन कर्णाली । असम्भव त झन् हुँदै होइन कर्णाली । भावनामा बहकिएर होइन कारण सहित हामी पनि दावी गर्छौ ‘सम्भव छ जुम्लामा एमबीबीएस !’
यतिवेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ महाविद्यालय अन्तर्गत स्टाफ नर्स, ब्याचलर अफ मिडवाइफ्रि, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ, एनेस्थेसिया असिस्टेन्ट लगायतका विषयको अध्ययन अध्यापन गराईरहेको छ । यस्तै मेडिकल कलेज, र एलाइड कलेज संचालनमा ल्याउने तयारी अन्तिम अन्तिममा पुर्याएको छ ।
त्यसैले त जुम्लाको विकट गाँउ मानिने ताम्ति – ७, की चन्दाकुमारी शाही कर्णालीमै डाक्टरी पढ्ने सोच बनाएर बसेकी छन् । एसइईमा राम्रो अङ्क ल्याएर उर्तीण भएकी उनी अहिले चन्दननाथ माविमा विज्ञान विषय लिएर कक्षा ११ पढ्दै छिन् ।
उता स्वास्थ्य चौकी छुमचौरमा हेल्थ असिस्टेन्डको रुपमा कार्यरत चितवनका प्रकाश सापकोटा पनि जुम्लामा डाक्टरी पढ्ने योजनाका साथ अघि बढेका छन् । दुर्गमका स्वास्थ्य चौकीमा वसेर काम गरिरहेकाले दुर्गम ठाँउमा डाक्टरको आवश्यकता कति रहेछ भन्ने बुझेर आफू यो योजनामा लागेको बताउने गरेका छन् । उनले अहिले जुम्लामै एमबीबीएस पढ्ने भन्दै विज्ञान विषय लिएर कक्षा १२मा अध्ययन गरिरहेका छन् ।
शाही र सापकोटा मात्रै होइन प्रतिष्ठानले जुम्लामै एमबीबीएस कार्यक्रम सञ्चालन गर्न आटेको भन्दै उनी जस्ता थुप्रै विद्यार्थीहरु त्यसको तयारीमा लागि सकेका छन् ।
किन सम्भव छ जुम्ला ?
अलि पहिलेको कुरा गरौँ, अञ्चल अस्पताल त थियो तर डाक्टर देख्न मुस्किल । विस्तारै फाट्टफुट्ट रुपमा डाक्टर आउन थाले तर उपचारका लागि आवश्यक उपकरणको अप्रयाप्तता ।
यहि बास्तविकताका बीच सरकारले २०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरयो । त्यसको एक बर्षपछि अर्थात २३ कात्तिक २०६९ देखि प्रतिष्ठानले एक जना विशेषज्ञ सहित ५ जना मेडिकल अधिकृतलाई जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालबाट सेवा शुरु गरयो । त्यसको एक बर्ष नपुग्दै २०७० साल श्रावण महिनामा कर्णाली अञ्चल अस्पताल प्रतिष्ठानमा गाभियो ।त्यस लगत्तै प्रतिष्ठानले १०० शैय्याको अस्पताल सञ्चालनमा ल्यायो । अहिले स्तरबृद्धि भएर ३०० शैय्यामा चलेको छ ।
प्रतिष्ठानमा हाल विशेषज्ञ सहित ४५ जना चिकित्सकले सेवा दिदै आउनु भएको छ । थप जनशक्ति ल्याउने कार्यमा प्रतिष्ठान लागि परेको छ । यो पनि जानकारी दिउँ कि प्रतिष्ठानले जुम्लाका लागि विशेषज्ञ चिकित्सकको आवेदन माग गर्दा अहिले १५० जना विशेषज्ञ चिकित्सकहरुले आवेदन दिएका छन् ।
त्यसो त प्रतिष्ठान आफैले पनि एमबीबीएस पछि विशेषज्ञता हासिल गर्न आफ्नै खर्चमा डाक्टरहरुलाई पढाउँदै आएको छ । पछिल्लो पटक ५ जना डाक्टरले सो अवसर पाएका छन् ।
यी माथिका दृष्टान्तले के देखाउँछ भने, यहाँ असम्भव भन्ने कुरा छैन् । जुम्ला जस्तो ठाँउमा को जान्छ र ? भन्दै गर्दा माथिको विवरणले जवाफ दिइसकेको छ भन्ने हामीले महसुस गरेका छौँ । केही बर्षकै अन्तरालमा यति छिटो परिवर्तन हुन्छ भने असम्भव के छ ?
रहयो कुरा विरामी संख्याको,
आर्थिक वर्ष २०७४/०७५ मा मात्रै ओपीडीमा आउने विरामीको संख्या ३९ हजार ९४२ थियो । ४ हजार ३४७ जना आकस्मिक उपचारमा आएका थिए । २ हजार ५९१ जना भर्ना भए । ४६९ जनाको मेजर शल्यक्रिया भयो । २४३३ जनाको माइनर सर्जरी भयो । ५७२ जनाको नर्मल डेलिभरी र १०२ जनाको सिजेरियन सेक्सन । र यी संख्याहरु हरेक बर्ष बढ्दो क्रममा छ ।
अघिल्लो लेखमा सम्भव नहुने कारणमा जुम्लाको मौसम पनि उल्लेख गरिएको थियो । तुलनात्मक रुपमा जुम्ला अवश्य चिसो छ । तर यस्तो मौसममा शल्यक्रिया गर्न झनै उपयुक्त मानिन्छ । किनकी शल्यक्रियाका घाउहरु चिसोमा चाँडै निको हुन्छ । जुम्लाले यहि मौसमको लाभ लिने छ । छिटो घाउ निको हुने भएपछि शल्यक्रियाका लागि बाहिरबाट समेत विरामी आउने हाम्रो दावा छ ।
उपचारकै कुरा गरौँ अहिले जुम्लामा हड्डी सम्बन्धिका सवै जटिल शल्यक्रिया, ल्याप्रोटोमी पेट चिर्नेे, एपेन्डीसाइटीस, सिजेरोएन बच्चा निकाल्ने शल्यक्रिया हुन्छ । यो पनि भनौँ, जुम्लामा बच्चा अडकिएर आमा मर्ने कुरा सामान्य मानिथ्यो तर प्रतिष्ठानले सेवा सञ्चालन गरेयता यसरी एक जना पनि सुत्केरीको यसरी ज्यान गएको छैन । प्रतिष्ठानले जुम्लामा सेवा गर्न थालेबाट मातृमुत्युदर घटेको छ भने नवजात शिशु बाल मृत्युदर पनि घटेको छ । त्यसैले हामी भन्छौँ जुम्लामा सम्भव छ ।
यसरी पढाई हुन्छ जुम्लामा
प्रतिष्ठान पिछडिएको क्षेत्रका लागि स्थापना भएकोले एमबीबीएस अध्ययनका लागि ४५ प्रतिशत कोटा पिछडिएको क्षेत्रलाई आरक्षण हुनेछ । कुल विद्यार्थीको २० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रबृतिमा पढ्न पाउने छन् भने २० प्रतिशतले आशिंक छात्रबृति पाउने छन् ।
अहिले स्टाफनर्स, एच.ए, स्नातक मिडवाफ्री बिषयमा विद्यार्थीले पढिरहेका छन् भने स्नातक तह पब्लिक हेल्थ बिषयमा आवेदन फारम संकलन गरिरहेको छ ।
हालै मात्रै नेपाल मेडिकल काउन्सिलले एमडीजीपी बिषयको अध्ययनका सम्भाब्यता अध्ययन गरेको छ । र, अध्ययनका लागि आएका टोलीले जुम्ला आफूहरुले सोचेको भन्दा धेरै गुणा माथि पाएको बताएका थिए ।
कर्णालीमा यति ठूलो अस्पताल आवश्यक छैन, अस्पतालमा विरामीनै हुदैनन्, अस्पताल वनाउनु हुदैन भन्ने गरिए पनि अहिले अस्पतालमा देखिने विरामीको घुइचोले सवै कुरा छर्लङ पारिदिएको छ । कर्णालीमा यति ठूलो संस्थाको स्थापना हुनु र ३०० शैयाको अस्पताल संचालनमा आउनु यो पिछडिएको क्षेत्रेको स्वास्थ्य शिक्षाको समग्र विकासको कोशेढुङ्गा नै हो ।
जुम्लाले पिछडिएको क्षेत्रमा पनि मेडिकल कलेज सम्भव छ भन्ने शहर केन्द्रीत सोच भएका व्यक्तिलाई देखाउन चाहेको छ । त्यसैले मेडिकल काउन्सिले पनि पिछडिएको क्षेत्रमा मेडिकल कलेज संचालनका लागि विशेष खालको मापदण्ड निर्माण गर्नुपर्छ । किनभने सबैले पुरातन सोच हटाउन जरुरी छ ।
जुम्ला जाउ डाक्टर वन जुम्ला जाउ स्वस्थ्य वन भन्ने उद्देश्य राखेर अघि बढे जुम्लामा एमबीबीएस सञ्चालन सम्भव छ ।
यो पनि नबिर्सौ ……………………………
जुम्लीहरुको औषत आयु अहिले पनि ३६ वर्ष मात्रै छ । तर यहा“ ९५ वर्ष सम्म वाचेका मानिसहरु पनि छन् । प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाका साथै स्वास्थ्यमा अनुसन्धान समेत थालेको छ ।
कर्णालीका ५५ हजार घरपरिवारको स्वास्थ्य सर्भेक्षण गर्ने लक्ष्य अनुरुप जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वास्थय सर्भेक्षण गरि सकेको छ भने अव अन्य जिल्लाहरुको पनि स्वास्थ्य सर्भेक्षणको तयारी गरिरहेको छ ।
५ वटै जिल्लाको स्वास्थ्य सर्भेक्षण गरिसकेपछि कर्णालीको स्वास्थ्यको तथ्याङ्क सार्वजनिक गर्ने तयारी प्रतिष्ठानले गरेको छ । तत् पश्चात अन्य ८ जिल्लाहरुमा पनि स्वास्थ्य सर्भेक्षण कार्य गर्ने बताईएको छ ।
प्रतिष्ठानले नेपाल सरकारका प्राधमिकतामा रहेको सि.ई.व.एन.सि कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, क्षयरोग, खोप कार्यक्रमपनि प्रतिष्ठानले संचालन गरिहेको छ । भने नेपाल सरकारले वितरण गर्ने ७२ प्रकारका निःशुल्क औषधि समेत वितरण गरिरहेको छ ।
सामान्य उपचार गराउन, हात भाचिए पलाष्टर गर्न, एक्सरे गर्न लगायत सामान्य अवस्थामा पनि महंगो हवाई यात्रा गरेर जिल्ला वाहिरका अस्पतालमा जानु पर्दथ्यो तर अहिले जटिल शल्यक्रिया समेत जुम्लामै भैरहेको छ ।
र, अन्तमा ………………………………….
अहिले प्रतिष्ठानले महिनामा दुई पटक कालिकोटमा र एक पटक मुगुमा विशेषज्ञ सेवा दिन थालेको छ । डोल्पामा एकजना विशेषज्ञ एमडीजीपी पठाएर सेवा विस्तार गरेको छ । यस्तै पश्चिम रुकुममा र जुम्लाको सिंजामा पनि प्रतिष्ठानका चिकित्सक गएर सेवा दिई राख्नुभएको छ ।
मेडिकल कलेजका लागि जुम्लामा विरामीको संख्या कम हुन्छ भन्ने कुरा अव लागू हुँदैन । किनभने जुम्लाले कर्णालीको ५ वटा जिल्लाहरु सहित बझाङ, बाजुरा, दैलेख, सल्यान जाजरकोटमा समेत सेवा विस्तार गर्ने क्रममा छ । यी सबै विरामी प्रतिष्ठानको लिष्टमा पर्नुहुन्छ ।
र, सबैभन्दा महत्वपूर्ण कुरा जुम्लाले अहिले आफ्नो ४ जना चिकित्सकलाई सुर्खेतमा सेवा गर्न खटाएको छ । त्यसैले सुर्खेतलाई जुम्लासंग तुलना गर्नुको तुक छैन ।
Comments
Post a Comment